समाचार
कावासोती नगरपालिकाको संक्षिप्त परिचय
नेपाल सरकारद्धारा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सदरमुकाममा अवस्थित कावासोती नगरपालिका तत्कालिन ४ वटा गाउँ विकास समितिहरु ( कावासोती, शिवमन्दिर, पिठौली र अग्यौली) लाई समायोजन गरेर १६ वटा वडा रहने गरी २०७१ बैशाख २५ गते घोषणा गरियो । नेपालको संविधान बमोजिम राज्यको पुन: संरचना हुने क्रममा नेपाल सरकारले २०७३ सालमा लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित कुमारवर्ती गाँउ विकास समितिलाई समेत समावेश गरी १७ वटा वडा भएको नगरपालिकाको रुपमा स्थापित भएको छ ।
कावासोती नगरपालिकाको नामाकरण साविकको कावासोती गाउँ विकास समितिसँग जोडिदै आएको पाइन्छ । साविकका कावासोती लगायतका गाविसहरुलाई गाभेर नगरपालिका बनाउने निर्णय नेपाल सरकारबाट भए पश्चात सोही नामबाट नगरपालिकाको नाम कावासोती राखिएको हो । वास्तवमा कावासोती शब्द प्राकृतिक सम्पदा खोलासँग जोडिएको छ । नेपाली शब्दकोष अनुसार कावा को अर्थ वृत्ताकार मार्गमा हिड्ने र सोती को अर्थ तेर्सो परेको ठाउँमा सलल्ल बगेर पानी जाने भन्ने हुन्छ । नगरपालिका क्षेत्रभित्र केरुङ्गे खोला, पत्थर खोला, लोकाहा खोला, वाणखोला आदि खोलाहरु मध्ये पालिका क्षेत्रभित्र रहेका खोलाको भूमिका सिंचाइमा ठूलो राहत मिलेको र तटबन्धनको अभावका कारण खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ । यसै खोलाको नामबाट कावासोती गाविस हुँदै नगरपालिकाको नामाकरण भएको अनुमान गर्न सकिन्छ ।
यो नगरपालिका गण्डकी प्रदेश अन्तर्गत रहेको ८५ वटा स्थानीय तह मध्येको एक हो । यस नगरपालिकाको क्षेत्रफल १०८.३५ वर्ग किलोमिटर मा फैलिएको छ । जसमध्ये कृषि भू-उपयोगका दृष्टिले २५०० हेक्टर जमिन रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा देवचुली नगरपालिका र चितवन राष्ट्रिय निकुञ्ज, पश्चिममा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिका, उत्तरमा हुप्सेकोट गाउँपालिका र देवचुली नगरपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्च पर्दछन् । २०७८ सालको जनगणना अनुसार ८६,८२१ जनसख्या र जनघनत्व ८०१, कुल परिवार संख्या २२,१६६, लैंगिक अनुपात ८७.५३ रहेको छ । मुख्य रुपमा ब्राह्मण, क्षेत्री, थारु, मगर ,गुरुङ्ग, माझी, बोटे, मुसहर लगायत सबै जात र धर्मका मानिसहरु बसोवास गर्ने यस नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई धर्म मान्ने मानिसहरुको बाहुल्यता रहेको छ ।
कृषि, पर्यटन र उद्योगका हिसावले प्रशस्तै संभावना बोकेको नवीन नगरका रुपमा स्तरोन्नती हुने क्रममा रहेकाले यसले अहिलेसम्म कुरुपताको अभिशाप बोक्नु परेको छैन । १७ वटा वडामा विस्तारित यस नगरमा एकीकृत बस्ती विकास, योजनाबद्ध शहरीकरण, आधारभूत भौतिक सुविधाको उपलब्धता आदिको उचित व्यवस्थापन गर्न सकिने प्रशस्तै आधारहरु रहेका छन् । पुराना शहरहरुले भोगिरहेका समस्याबाट शिक्षा लिँदै कावासोती नगरमा रहेका विशिष्ट सम्भावनाहरुको गाम्भिर्यतापूर्वक अध्ययन गरेर दीर्घकालीन योजनाका साथ अघि बढे यसको समुज्जवल भविष्य देखिन्छ । साथै नारायणी नदीको तटीयक्षेत्र अवलोकन तथा पर्यापर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । कृषि क्षेत्रमा पकेट क्षेत्रको रुपमा विकास हुँदै गएकाले यस नगरलाई खाद्यान्नमा आत्मनिर्भर उन्मुख सहरको रुपमा विकास गर्न सकिन्छ ।