FAQs Complain Problems

नगर प्रमुख चन्द्र कुमारी पुनज्यूको नगरबासी दिदिबहिनी तथा दाजुभाइलाई हरितालिका तिज २०७७ को शुभकामना

आदरणीय नगरबासी दिदिबहिनी तथा दाजुभाइ,

 

सर्बप्रथम, हरितालिका तिज २०७७ को पावन अबसरमा हजुरहरु सम्पूर्ण मा सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना ।

 

तिज बास्तबमा एउटा रमाइलो गर्ने चाड मात्रै नभएर हामीले आफ्ना अधिकार, सुख र दुख गितका माध्यमबाट व्यक्त गर्ने अबसर पनि हो। तिजको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व हुनुको साथै यस अबसरमा खाइने दरका परिकारले पौष्टिकता पनि दिने कुरा हामीलाई थाहै छ । तर आज हामी फरक परिस्थितिबाट गुज्रिएका छौं । बिश्वभर कोरोना भाइरस , कोभिड- १९ को महामारीले उग्र रुप लिदैछ। हाम्रो देश र हाम्रै नगरपालिका पनि यसबाट अछुतो रहेन । हामीले हाम्रा उपमेयर प्रेमशंकर मर्दनियाज्युको नेतृत्वमा रहेको बिपद ब्यबस्थापन समिति मार्फत नगरबासिको स्वास्थ्यको लागि यथासंभब प्रयास गरिरहेका छौं । करिब ४ महीना सम्म नगरबासिलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्यौं। हालसम्म पनि ब्यबस्थित क्वारेन्टाइनको सेवा उपलब्ध गराउदै आएका छौं । पछिल्लो समयमा पि सि आर टेस्टलाई पनि तिब्रता दिइएको छ । अहिले जिल्ला प्रशासन कार्यालय नवलपुरले पनि निषेधाज्ञा जारी गरेकोले, आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नको लागी यसपटकलाई घरमै नितान्त आफ्नो नियमित परिवार संग बसि आआफ्नो रितिरिवाज अनुसर तिज मनाउनु हुन शुभकामना साथमा अनुरोध पनि गर्दछु । हामी सबै स्वस्थ रहेर फेरि अर्कोसाल दिल खोलेर चाड मनाउंला ।

 

अन्त्यमा, नगरबासिको स्वास्थ सुरक्षामा लाग्नु हुने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिकर्मी, संचारकर्मी लगायत सम्पूर्णलाई धन्यवाद दिदै क्वारेन्टाइनमा रहनु हुनेलाई धैर्यता लिन पनि आग्रह गर्दछु । साथै आइसोलेसनमा रहनुहुने सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। फेरि पनि यो तिज फरक परिवेशमा रहेर मनाउदै गर्दा पनि हाम्रा खुसिहरुमा कमि नआउन । तिज पछि हामी फेरि सामान्य जनजीवनमा फर्कन सकौं ।

 

सम्पूर्णमा फेरि पनि तिजको शुभकामना ।

 

चन्द्र कुमारी पुन

नगर प्रमुख , कावासोती नगरपालिका